- समाचार यात्रा
- २ साल अघि
- 61 जनाले पढ़िसके
धादिङ : जिल्लामा डेंगु संक्रमित बिरामीको संख्या बढ्दो छ । स्वास्थ्य परिक्षणका लागि धादिङ अस्पताल आएका एक सय २६ जनामा डेंगु संक्रमण भेटिएको हो । यस आर्थिक वर्षको साउन महिनामा ६२ जना र भदौको शुक्रबारसम्म ६४ जना गरी एक सय २६ जनामा डेंगु देखिएको धादिङ अस्पतालका सुचना अधिकारी विक्रम विकले जानकारी दिए ।
अघिल्लो आर्थिक वर्षमा ४८ जनालाई डेंगु संक्रमित भएको थियो । टाउको दुख्ने, ज्वरो आउने लगायतका समस्या भएर चेकजा“चका लागि अस्पताल आएका अधिकांश बिरामीहरुमा डेंगुको संक्रमण भेटिएको अस्पतालका सुचना अधिकारी विकले बताए ।
डेंगु लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगु भाइरसद्वारा संक्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी पाइन्छ । यो लामखुट्टेले सफा पानी जमेको स्थानमा फुल पार्ने गर्छ । विशेष गरी, वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गमला, पानीका ट्ंयाकी आदिमा यसले फुल पार्छ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू थुप्रै हुने भएकाले पनि सहरमा बढी लामखुट्टे देखिने गर्छन् ।
एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु रोग सर्दछ । पोथी लामखुट्टेले अण्डा पार्न रगत चाहिने भएकाले दिनको समयमा यसले मानिसलाई टोक्ने धादिङ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डाक्टर मधुकर दाहाल बताउँछन्।
घाम उदाएको दुइ घण्टा पछि र घाम अस्तानु भन्दा दुइ घण्टा अघिसम्म यो लामखुट्टे सक्रिय रहन्छ । विशेष गरि घरगाउँ वरपर रेहेका खाल्डा खुल्डी पुर्ने, पानी जम्न नदिने, सवारी साधनका टायर भए सुरक्षित राख्ने, लामखुट्टेबाट सुरक्षित रहने जस्ता उपाय अपनाए डेंगुबाट बच्न सकिने उनले बताए । डेंगु ज्वरो आउ“दा शरीरको तापक्रम १०२ डिग्रीदेखि १०३ डिग्रीसम्मको हुन्छ । त्यसैगरी, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांशपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका सुरुवाती लक्षणहरु हुन् ।