- समाचार यात्रा
- २ साल अघि
- 204 जनाले पढ़िसके

काठमाडौं : संयुक्त अरब इमिरेट्सको दुबईमा एक नेपाली युवाले ३४ करोड भन्दा बढीको चिट्ठा जितेका छन् ।
कार धुने काम गर्दै आइरहेका ३१ वर्षिय भरत नामका नेपाली युवाले १ करोड दिराम अर्थात करिब साढे ३४ करोड रुपैयाँ जितेको गल्फ न्युजले जनाएको छ ।
यसअघि मासिक १,३०० दिराम कमाउने भरतले ९४औँ महजुज साप्ताहिक र्याफल ड्र को पहिलो पुरस्कार जितेको समाचारमा उल्लेख छ ।
बुधबार दुबईमा महजुजका अपरेटर इ विंग्सका सीईओ फरीद सामजीले भरतलाई १ करोड दिरामको प्रतीकात्मक चेक प्रदान गरे ।
पुरस्कार पाएपछि संचारकर्मीसँग कुरा गर्दै भरतले आफ्नो नाममा बैंक खाता समेत नभएको भन्दै यो रकमले धेरैजनाको जीवन परिवर्तन हुने बताएको गल्फ न्युजले उल्लेख गरेको छ ।
भरतले आफ्नो ऋण तिर्ने र बाँकी पैसालाई सही ढंगले सदूपयोग गर्ने पनि बताए ।
पाँच र तीन वर्षका दुई बच्चाको भविष्य राम्रो बनाउन यो रकम खर्च गर्ने भन्दै उनले करोडपति भए पनि आफूले सादा जीवनू बाँच्ने उल्लेख गरे ।
भरतले पाँच विजयी नम्बर ९१६, २७, ३१, ३७, ४२० मिलाएर शीर्ष पुरस्कार जित्न सफल भएका हुन् । उनी यो चिट्ठा जित्ने पहिलो नेपाली हुन् । भरतको नेपालको घर र बाँकी बिवरण खुलाईएको छैन ।