- समाचार यात्रा
- २ साल अघि
- 80 जनाले पढ़िसके

काठमाडौं । ज्यान सम्बन्धी मुद्दामा फरार आरोपीलाई जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको राइनास नगरपालिका–९ घर भएका ४२ वर्षीय बेलराम गुरुङ छन् ।
बेलरामले राइनास–९ स्थित कुँडुले बस्ने ५४ वर्षीय हितमान श्रेष्ठलाई दाउराले हिर्काएर हत्या गरेको आरोप छ । २०७४ मंसिर ११ मा श्रेष्ठको हत्यापछि भागेका बेलराम ५ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
हत्यापछि फरार भएका उनी चितवनमा लुकेर बसेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपी गुरुङलाई जिल्ला प्रहरी कार्यालय चितवनसँगको समन्वयमा भरतपुर महानगरपालिका वडा नं. १६ बिजयनगरबाट पक्राउ गरिएको जिप्रका लमजुङले जनाएको छ ।
चितवनमा बस्दा बेलरामले आफ्नो नाम र ठेगाना ढाँटेर बसेका थिए । आरोपीविरुद्ध लमजुङ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।