- समाचार यात्रा
- १ साल अघि
- 125 जनाले पढ़िसके

काठमाडौं । नेपालको युवा टोली घरेलु मैदानमा जारी एसिया यू–२० रग्बी सेभेन्सको सेमिफाइनलमा पुग्न असफल भएको छ ।
शनिबारदेखि दशरथ रंगशालामा सुरु भएको एसिया रग्बी सेभेन्सअन्तर्गत समूह चरणका तीनै खेलमा पराजयपछि नेपालको यू–२० पुरुष टोली सेमिफाइनलमा पुग्न असफल भएको हो ।
प्रतियोगिताको समूह ‘बी’मा रहेको नेपाल पहिलो खेलमा भारतसँग २८–० ले, दोस्रो खेलमा मलेसियासँग ४४–० ले र अन्तिम खेलमा हङकङसँग ३६–० ले स्तब्ध भयो ।
नेपालले अब पाँचौँ स्थानका लागि आइतबार उज्बेकिस्तासँग खेल्नेछ । आइतबार हुने सेमिफाइनलमा चाइनिज ताइपेईले मलेसिया र थाइल्यान्डले हङकङसँग प्रतिस्पर्धा गर्ने भएका छन् ।
महिलातर्फ पनि डबल राउन्ड रोबिन पद्धतिमा आयोजित प्रतियोगितामा नेपालको यू–२० टोलीले तीनै खेलमा हार व्यहोर्यो ।
पहिलो खेलमा हङकङसँग ३४–५ ले, दोस्रो खेलमा मलेसियासँग २४–० ले र तेस्रो खेलमा नेपाल थाइल्यान्डसँग ४५–० को फराकिलो अन्तरले पराजित भयो । तर, आइतबार हुने तीन खेलमा विजयी भए दोस्रो र तेस्रो हुने अवसर नेपालसँग बाँकी नै छ ।
महिलातर्फ लिगमा प्राप्त अंकका आधार शीर्ष तीन निर्धारण गरिनेछ ।
दुईदिने प्रतियोगितामा आइतबार नै सेमिफाइनल र फाइनलका खेल हुनेछन् । प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले उद्घाटन गरेका थिए ।