- समाचार यात्रा
- १ साल अघि
- 44 जनाले पढ़िसके

काठमाडौं । सन् २०३० को फिफा विश्वकप ६ देशमा आयोजना हुने भएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरोक्कोले आयोजना गर्ने जनाउदै प्रतियोगिताका सुरुआती तीन खेल भने अर्जेन्टिना, उरुग्वे र पराग्वेमा हुने पुष्टि गरेका हुन् ।
विश्वकपको सुरुआत भएको १०० वर्ष पुगेको उपलक्ष्यमा प्रतियोगिताका सुरुआती खेलहरू दक्षिण अमेरिकामा हुने फिफाले बताएको छ । विश्वकपको पहिलो संस्करण सन् १९३० मा उरुग्वेमा आयोजना भएको थियो ।
विश्वकपका खेल हुने सबै राष्ट्र स्वत: छनोट हुने फिफाले जनाएको छ ।
पहिलो विश्वकपको उपाधि उरुग्वेले नै जितेको थियो । त्यसबेला उरुग्वेले फाइनलमा अर्जेन्टिनालाई हराएको थियो । त्यसबेला दक्षिण अमेरिकी फुटबल संघ (कन्मेबोल) अस्तित्वमा रहेको एक मात्र कन्फेडेरेसन थियो । कन्मेबोलको मुख्यालय पाराग्वेमा छ ।
प्रतियोगिताका सुरुआती तीन खेल खेल्ने टिमले दक्षिण अमेरिकाको भ्रमण गर्नेछन् । र, बाकी सबै खेलहरू स्पेन, पोर्चुगत र मोरोक्कोमा हुनेछ ।
फिफाका अध्यक्ष इन्फान्टिनोले पहिलो खेल उरुग्वेको एस्टाडियो सेन्टेनारियोमा खेलिने पुष्टि गरे । सन् १९३० को विश्वकपका लागि बनाइएको यो रंगशालामा उक्त संस्करणको फाइनलसमेत आयोजना भएको थियो । सुरुआतका खेल दक्षिण अमेरिकामा हुने भए पनि उद्घाटन समारोह भने मोरोक्को, पोर्चुगल वा स्पेनमा हुनेछ ।
मोरोक्कोले पहिलो पटक विश्वकप आयोजना अधिकार पाएको हो । यसअघि गरेको सन् १९९४, १९९८, २००६, २०१० र २०२६ को विश्वकप आयोजनाका लागि प्रस्ताव गरेको भए पनि मोरोक्कोले अधिकार पाएको थिएन । यो उत्तरी अफ्रिकामा विश्वकप खेलहरू आयोजना गर्ने पहिलो देश पनि बन्नेछ ।
पोर्चुगलले पनि पहिलो पटक विश्वकप आयोजनाको अधिकार पाएको हो । पोर्चुगलले यसअघि सन् २०१८ र २०२२ को विश्वकप आयोजनाका लागि प्रस्ताव गरेको थियो । स्पेनले भने सन् १९८२ मा विश्वकप आयोजना गरेको थियो ।