- समाचार यात्रा
- ७ महिना अघि
- 172 जनाले पढ़िसके
सरिता श्रेष्ठ
धादिङ । सामान्य टाउको दुखेमा, पेट दुखेमा र अन्य समस्या देखिएमा विद्यार्थीहरू विद्यालय छाडेर घरै नै जानुपर्ने बाध्यता थियो । सामान्य घाउ चोट लाग्यो भने स्वास्थ्य चौकी र अस्पताल दौडाउनुपथ्र्यो । तर, अहिले त्यो समस्या हल भएको छ । विद्यालयमा नै नर्स हुँदा सामान्य स्वास्थ्य समस्याकै कारण पढाइ छाड्नुपर्ने बाध्यता हटेको छ ।
वाग्मती प्रदेश सरकारले प्रदेशभर रहेका अधिकांश विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागु गरेको छ । त्यसले पढाइसँगै विद्यार्थीको स्वास्थ्य र स्वभावमा समेत परिवर्तन आएको शिक्षकहरू बताउँछन् ।
पहिले विद्यालयमा नै महिनावारी हुँदा प्याड उपलब्ध हुँदैनथ्यो, घरमै फर्कनुपथ्यो, यसले पढाइ धेरै छुटेको धादिङको थाक्रे गाउँपालिकामा रहेको जनजागृती माध्यमिक विद्यालयबाट एसईई दिएर बसेकी विपिना लामाको अनुभव छ ।
“पहिले पहिले विद्यालयमै महिनावारी भइयो भने के गर्ने÷ कसो गर्ने हुन्थ्यो । महिनावारी लाजको विषय हुन्थ्यो, घर फर्कनु पथ्र्यो, पढाइ छुट्थ्यो,” उनले सम्झदै भनिन्, “अहिले विद्यालयमा सञ्चालन भएको यो कार्यक्रमपछि हामी महिनावारीलाई लुकाउँदैनौँ । आफ्नो कुरा खुलेर भन्न सक्ने भएका छौँ, पढाइ प्रभावित हुँदैन ।”
अहिले विद्यालयमा नै किशोरीहरूलाई निःशुल्क प्याड वितरण हुन्छ । सामान्य चोटपटक लाग्यो भने विद्यालयमा नै उपचार पाइन्छ । समयसमयमा स्वास्थ्यसम्बन्धी जानकारी पनि लिन सकिन्छ । नसर्ने रोग, नियमित खोपका कार्यक्रम पनि विद्यालयमा नै सञ्चालन हुन्छ । यसले गर्दा विद्यार्थीहले निकै फाइदा लिइरहेका छन् ।
आफ्नो विद्यालयमा सञ्चालन भएको उक्त कार्यक्रम निकै प्रभावकारी भएको विद्यालयका सहायक प्रधानाध्यापक रामचन्द्र रुपाखेतीले बताए । “विद्यालयमै नर्स भएपछि विद्यार्थीहरूको स्वास्थ्यमा सुधार आएको छ, अहिले विद्यालयमै सेनेटरी प्याडको व्यवस्था छ । छात्राहरूले महिनावारी भएकै कारण पढाइ छाडेर घर जानुपर्ने समस्या हल भएको छ,” उनले भने ।
शिक्षक अनुपस्थित रहेको अवस्थामा नर्सले उक्त कक्षामा गएर सरसफाइ, स्वास्थ्य, महिनावारी, प्रजनन् स्वास्थ्य र खानपिनका बारेमा चेतनामूलक कक्षा लिने गरेका छन् । “विद्यालय नर्सले संक्रामक रोग, स्वास्थ्यसम्बन्धी जानकारी, खोप लगायतका बारेमा पनि विद्यार्थीलाई जानकारी गराउने गर्छन्,” उनले भने, “स्कुलमा नर्स राखिएपछि विद्यार्थीहरूको खानपिन र सरसफाइमा सुधार आएको छ । हाल नर्सहरूकै सक्रियतामा विद्यालयमा जङफुडको सट्टामा घरमै बनेको खाजा ल्याउने बानी बसेको छ ।”
विद्यालयमा प्रजनन् स्वास्थ्य र यौन शिक्षाको बारेमा पनि शिक्षण गराइन्छ । स्वास्थ्य परामर्श पनि दिइने भएकाले विद्यार्थीहरूले आफ्नो समस्या निर्धक्क भन्न सक्ने गरेको सिन्धुपाल्चोकको हेलम्बुको सरस्वती माध्यमिक विद्यालयकी नर्स दुर्गा लम्साल बताउँछिन् । त्यसकारण पनि यो कार्यक्रम किशोरकिशोरीहरूको लागि निकै नै प्रभावकारी भएको देखिन्छ । उनका अनुसार यो शिक्षणले विद्यार्थीहरूको स्वास्थ्यमा समेत धेरै परिवर्तन आएको उनको अनुभव छ ।
तीन वर्ष विद्यालय नर्सको काम गरेको अनुभव सुनाउँदै उनी भन्छिन्, “प्राथमिक उपचार दिनेदेखि महिनावारी शिक्षा, कोरोना, डेंगी लगायतका रोगका बारेमा कक्षामा गएर सचेतना दिइने गरेका छौँ ।”
यी विषयका शिक्षणकै कारण विद्यार्थीहरूको स्वास्थ्य र व्यवहारमा पनि परिवर्तन आएको उनी बताउँछिन् । “यस कार्यक्रममार्फत विद्यार्थीहरूलाई बाल स्वास्थ्य, सरसफाइ, पोषणयुक्त खाना, स्वास्थ्य परामर्श, यौन शिक्षा लगायतका विभिन्न विषयको बारेमा शिक्षण गराउने गरेका छौँ,” उनले भनिन् ।
विद्यार्थीहरूको स्वास्थ्य र सरसफाइमा आएको सुधारलाई कार्यक्रमको प्रमुख उपलब्धिको रूपमा लिएको उनले सुनाइन् । “शौचालय प्रयोग गरेपछि साबुनपानीले राम्रोसँग हात धुनुपर्छ भन्ने बानीको विकास भएको छ,” कार्यक्रमको प्रभावकारीताबारे बताउँदै उनले भनिन्, “उनीहरूमा आफ्नो स्वास्थ्यसँगै विद्यालय परिसर र कक्षा कोठाको सरसफाइ गर्ने बानी बसेको छ ।”
सामाजिक विकास मन्त्रालयले नर्स भएको विद्यालयमा एउटा बेड, उपकरण र औषधिहरू उपलब्ध गराएको छ । “बिरामी विद्यार्थीहरूलाई स्कुलमा नै उपचार गर्ने गरेका छौँ,” नर्स उनले भनिन्, “सामान्य रोगको उपचारका निम्ति आवश्यक पर्ने उपकरण र औषधि स्कुलमा नै छ ।”
धादिङको सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ माध्यमिक विद्यालयमा ३६ सयभन्दा बढी विद्यार्थी छन् । जब वाग्मती प्रदेशले एक विद्यालय एक नर्स कार्यक्रम ल्यायो सुरुआतमै नीलकण्ठ माध्यमिक विद्यालय छानिए । खेल्ने क्रममा चोटपटक लाग्ने, लड्ने जस्ता सामान्य समस्या हुन्थ्यो । ज्वरो आयो, टाउको दुख्यो, पेट दुख्यो भने अभिभावकलाई बोलाउनुपर्ने विगतको अनुभव सुनाउँछन् विद्यालयका प्रधानाध्यापक धुव्र अधिकारी ।
“छात्रा विद्यार्थीहरू गल्र्स प्रवलम भन्दै विद्यालय छाडेर घर जाने गरेका थिए । त्यस्तो अवस्थामा विद्यार्थीलाई रोक्न पनि मिल्दैनथ्यो । एकातिर स्वास्थ्यमा समस्या अर्कोतिर पढाइ छुट्ने समस्या,” उनले भने, “जबदेखि वाग्मती प्रदेश सरकारले यो कार्यक्रम ल्यायो तबदेखि यस्ता समस्याको समाधान भएको छ । अहिले पढाइ पनि राम्रो भएको छ, स्वास्थ्य पनि ।”
पहिले विद्यालयले नै सेनेटरी प्याड पनि राखेको थियो । तर छात्राहरू प्याड माग्नै लाज मान्ने, डर मान्ने गर्थे अनि पढाइ नै छाडेर घर जाने गरेको प्रधानाध्यपक अधिकारीले बताए । “अहिले महिनावारी भएमा नर्सकहाँ जान्छन्, प्याड माग्छन्, पेट दुखेको अवस्थामा तातोपानीले सेक्छन्, बेड रेष्ट गर्छन् । अनि पढाइमा फर्किन्छन् ।”
प्रधानाध्यपक अधिकारी शिक्षा क्षेत्रमा प्रदेशले गरेको अहिलेसम्मको उत्कृष्ट कार्य भन्दै तारिफ गर्छन् । विद्यार्थीको अनुपात धेरै भएको विद्यालयमा जनशक्ति तथा उपकरण धेरै भइदिए अझै राम्रो हुने उनी बताउँछन् ।
किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्य सुधारको आवश्यकता महसुस गरी वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालनमा ल्याएको हो । विद्यालय तहबाटै बालबालिकालाई सन्तुलित र पोषिलो खानेकुराका साथै स्वास्थ्य सरसफाइ र पोषण प्रवद्र्धन गर्न विद्यालयमा नर्स राख्ने कार्यक्रम मन्त्रालयले गरेको थियो । हाल उक्त कार्यक्रम स्वास्थ्य मन्त्रालयले हेरिरहेको छ । प्रदेशमा सामाजिक मन्त्रालय विभाजन भएर स्वास्थ्य मन्त्रालय बनेपछि दायित्व सरेको हो ।
गाउँ–गाउँमा स्वास्थ्य शिक्षा पु¥याउने उद्देश्यसहित वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम ल्यायो । त्यसयता ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमले निरन्तरता पाइरहेको छ । त्यतिबेला १८ स्थानीय तहको २० वटा नमुना विद्यालयबाट सुरु गरिएको थियो ।
वाग्मती प्रदेशले गएको आर्थिक वर्षको अन्तिमसम्ममा प्रदेशभर ५१९ वटा विद्यालयमा नर्स राखेको थियो । चालु आर्थिक वर्षमा ३२९ नर्स थप्ने तयारी भइरहेको वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य प्रशासक सतिश विष्टले बताए । उनका अनुसार यो आर्थिक वर्षका अन्तिमसम्ममा ८४८ नर्स रहनेछ ।
“विद्यार्थीहरू घरबाहेक बढी समय विद्यालयमा बिताउँछन् । तर, स्कुल समयमा देखिएका स्वास्थ्य समस्याहरूको तत्कालै उपचार गर्न नसक्दा गम्भीर समस्या भोग्नुपरेको पीडालाई महसुस गरी यो कार्यक्रम सञ्चालन गरिएको हो,” जनस्वास्थ्य प्रशासक विष्टले भने ।
नर्सहरूले विद्यार्थीलाई ‘जंक फुड’ खान रोक लगाउनेदेखि प्रजनन् स्वास्थ्य, सरसफाइ र आधारभूत स्वास्थ्य क्षेत्रको विषयमा चेतना फैलाउँदा आमविद्यार्थीको जीवनशैलीमा परिवर्तन ल्याएको वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले बताइन् ।
“प्रदेशले सञ्चालन गरेको एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी भएको पाएका छौँ, यसमा विद्यार्थी, विद्यालय परिवार र अभिभावक समेत लाभ लिइरहनु भएको छ, साथसाथै विद्यार्थीको व्यवहार परिवर्तन, स्वास्थ्यमा सुधार पनि भएको पाएका छौँ,” मन्त्री मोक्तानले भनिन्, “आगामी वर्ष अझै नयाँ र प्रभावकारी कार्यक्रम थप गर्ने योजना बनाइरहेका छौँ ।”
प्रदेश सरकारले आगामी वर्ष गुणस्तरीय शिक्षाका लागि छात्रावास कार्यक्रम, सिकाइ उपलब्धिमा आधारित कार्यक्रम, डिजिटल शिक्षण कार्यक्रम समेत लागु गर्ने योजना भएको उनले बताइन् ।
संघीय सरकारले नै यो कार्यक्रमलाई देशभरका विद्यालयमा सञ्चालन गर्ने नीतिका साथ काम गरेको भएपनि अन्य प्रदेशमा भने यो कार्यक्रम प्रभावकारी रुपमा लागु हुन सकेको छैन । वाग्मतीले सञ्चालन गरेको यो कार्यक्रम भने तारिफयोग्य बनेको छ । प्रदेशले कार्यविधि नै बनाएरु यो कार्यक्रमलाई विसतार गरिरहेको छ । विद्यार्थी, अभिभावक, शिक्षक सबैले रुचाएका छन् ।
सरकारी विद्यालयमा पढाइको स्तर राम्रो नहुने भन्दै बोडिङ स्कुलमा अभिभावकहरूको नजर जाने गरेको पाइन्छ । त्यहि भएर सरकारीमा विद्यार्थीको चाप पनि कम हुँदै गएको थियो । हाल यस्तै विभिन्न कार्यक्रमले गर्दा सरकारी विद्यालयमा विद्यार्थीको चाप बढ्न थालेको छ । अंग्रेजी र नेपाली दुवै माध्यमबाट पढाइ हुनाका साथै अतिरिक्त त्रियाकलापमा पनि सरकारी विद्यालय अब्बल हुन थालेको छ ।
कार्यक्रम एक, लाभ अनेक
कार्यक्रम सञ्चालनमा आएसँगै विद्यालयमा हेल्थ क्लब, अभिमुखिकरण, विद्यार्थीको नियमित स्वास्थ्य चेकजाँच गरी हेल्थ प्रोफाइल जस्ता गतिविधि सुचारु भएको छ । विद्यार्थीको स्वास्थ्य स्थितिबारेमा कक्षागत रूपमा विद्यार्थीका अभिभावकले पनि चासो राख्ने गरेका छन् ।
“केही वर्ष अघिसम्म विद्यार्थी बिरामी भएमा शिक्षकहरूलाई धेरै तनाव हुन्थ्यो, के गर्ने ? कसो गर्ने ? कहाँ लैजाने ?,” नीलकण्ठ विद्यालयका प्रधानाध्यपक अधिकारी भन्छन्, “अहिले विद्यालयमा नर्स भएपछि शिक्षकहरूलाई पनि धेरै सहज भएको छ । विद्यार्थीलाई स्वास्थ्यमा केही समस्या आएमा उनीहरू स्वास्थ्य सेवा कक्षमा गएर उपचार लिन्छन् ।”उनका अनुसार कार्यक्रम किशोर–किशोरी, बालबालिका मात्र नभएर अभिभावकहरूलाई पनि प्रभावकारी भएको छ । यसले सबैलाई स्वास्थ्यप्रति सचेत बनाएको छ ।
“यो कार्यक्रमले किशोरीहरूको स्वस्थ्य सुरक्षित बनाएको छ,” उनले भने, “विशेष गरेर किशोरीहरूले महिनावारीको समस्या बारे खुलेर भन्ने सकिरहेका हुँदैनन् । महिलाको समस्या महिलाले नै बुझ्ने भएकाले किशोरीहरूले आफ्ना समस्या नर्ससँग निर्धक्क राख्न सक्ने भएका छन् । उनीहरू आफ्नो स्वास्थ्यको ख्याल आफैँ राख्न सक्ने भएका छन् ।”
विद्यार्थीलाई लाभ नै लाभ
महिनावारी, ज्वारो, रुघाखोकी लाग्ने, स्वास्थ्यमा सामान्य समस्या आउँदा विद्यार्थी विद्यालयमा जान मान्दैन थिए । अहिले विद्यालयमा नर्स राख्दा विद्यार्थी विद्यालयमा नियमित आउने गरेका छन् ।
नर्सहरूले विद्यार्थीहरूको समग्र स्वास्थ्य, सरसफाइ, पोषण, मानसिक स्वास्थ्य, किशोरकिशोरीमा प्रजनन् स्वास्थ्य प्रवद्र्धन तथा सर्ने र नसर्ने रोगबारे स्वस्थ जीवनयापनमा उत्प्रेरणा जगाइरहेका छन् । सयौँ विद्यार्थी र शिक्षक भएको स्कुलमा एउटा नर्ससम्म हुँदा पढाइका साथै स्वास्थ्यमा पनि आमूल परिवर्तन आएको शिक्षकहरू बताउँछन् ।
विद्यालयमा शिक्षकले भनेका कुरा बालबालिकाले छिटो विश्वास गर्ने हुँदा विद्यालयदेखि नै बालबालिकालाई सकारात्मक सोचसहित स्वास्थ रहन सिकाउने हो भने यस्ता कुराले सबैलाई फाइदा पुग्ने देखिन्छ ।
नर्सलाई रोजगारी
वाग्मतीमा एक हजार ५२२ मावि तहका विद्यालय छन् । त्यसमध्ये कार्यक्रम लागु भएका विद्यालयमा नर्सले रोजगारी पाएका छन् । वाग्मती प्रदेशले सुरुआतमा १८ स्थानीय तहका २० विद्यालयमा कार्यक्रम लागु गरेको थियो । यसै आर्थिक वर्षका अन्तिमसम्ममा ८४८ विद्यालयमा यो कार्यक्रम लागु गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस हिसाबले यति नै संख्यामा नर्सले रोजगारी पाएका छन् ।
नेपालमा नर्सिङ बढेर कामको सिलसिलामा भौतारिरहेका नर्सलाई यो कार्यक्रमले रोजगारी दिलाएको छ । विद्यार्थीहरूको स्वास्थ्य लगायतका विविध विषयमा समेत जानकारी गराइने भएका कारण आफैँलाई पनि यसले बढी ज्ञान दिएको नर्सहरू बताउँछन् ।
अभिभावक पनि ढुक्क
विद्यालयमा नर्स राखेपछि अभिभावकहरू पनि ढुक्क छन् । पढ्न विद्यालय पठाएका बालबालिका कहिले घाउ चोटपटक बोकेर आउने, ज्वरो आएर घर फर्कनु परेको छैन । महिनावारी भएकै कारण घर फर्कनु परेको छैन ।
विद्यालयमा नर्स राखेपछि विद्यार्थीलाई लाग्ने सामान्य रोगको उपचार नर्सले नै गर्ने गरेका छन् । बालबालिकाले स्वास्थ्यसम्बन्धी जानेका र सिकेका नयाँ कुरा परिवारलाई पनि भन्ने गरेका छन् । अभिभावकहरूले पनि स्वास्थ्य र सरसफाई ध्यान दिन थालेका छन् । विद्यालयमा पढ्न पुगेका विद्यार्थीलाई केही भयो की, चोटपटक लाग्यो कि भन्ने डर पनि नभएको अभिभावकहरू बताउँछन् ।