- समाचार यात्रा
- ७ महिना अघि
- 191 जनाले पढ़िसके
सरिता श्रेष्ठ
धादिङ । जन्मँदै उनले (रुपा अर्याल) शारीरिक अपांगता व्यहोर्नु परेको होइन । उनी दुई वर्षको उमेर हुँदा स्वास्थ्यमा समस्या देखियो । उपचारका क्रममा दुवै खुट्टा चल्न छाडे । अहिले उनको कम्मरदेखि माथिल्लो भाग सामान्य मानिसझैँ चल्दैन । कम्मर तलको भाग असामान्य ढंगले सुक्दै गएको छ ।
परिवारमा तीन सन्तानमध्ये रूपा जेठी हुन् । उनको जन्म म्यानमारमा भएको हो । पछि त्यहाँ बस्न समस्या भएपछि उनीहरू नेपाल आएका हुन् । रुपा भन्छिन्, “मैले जन्मँदै शारीरिक अपांगता व्यहोर्नु परेको होइन, जन्मँदा अरु बच्चाहरू जसरी बामे सरेर हिँड्थे रे दुई वर्षको छँदा अत्यधिक ज्वरो आएको थियो । म्यानमारकै एउटा अस्पतालमा उपचार गराउन जाँदा एक सिकारु नर्सले सुई लगाइदिएपछि विस्तारै खुट्टा चल्न छाडेको हो ।”
रुपा चार वर्षको उमेरमा नेपाल आइन् । नेपालमा उनको शल्यक्रिया भयो । सपांग व्यक्तिजस्तै गरेर हिँड्न नभएपनि ३३ वर्षीय रुपा अहिले बैसाखीको सहायताले हिँडडुल गर्छिन् । चारपांग्रे स्कुटर चलाउँछिन् । समाजसेवामा मन लगाउँछिन् ।
शारीरिक अपागंताकै कारण रुपालाई धेरै विद्यालयले पढाउन अस्वीकार गरे । उनले भनिन्, “५० प्रतिशत शरीर मेरो अस्वस्थ छ । शारीरिक अपांताकै कारण सानै हुँदा कुनै पनि विद्यालयले भर्ना लिएनन् । जसोतसो धेरै कोसिसपछि पढ्न पाएँ । अहिले पनि पढ्दै छु ।”
कुनै बेला पढाइसँगै कामको खोजीमा भौतारिरहिन । कामको अवसर टन्नै आउँन्थ्यो । जब शारीरिक अशक्तता भन्ने थाहा हुन्थ्यो तब रिजेक्ट भइहाल्थिन् । आश्वासनसहित पाएको काममा पनि धेरैका तुच्छ बचत सुन्नुपरेको रुपा विगत सम्झदै बताउँछिन् ।
“धेरै ठाउँमा रोजगारीका लागि हात फैलाउँदै गएँ । शारीरिक अवस्था देखेर रोजगारदाताले मलाई अस्वीकार गर्थे । कामका लागि अनलाइनबाटै धेरै पटक फारम भर्ने गर्थे । कामका लागि छानिन्थेँ पनि । दुर्भाग्य, काम गर्न जाँदा अर्कै व्यक्तिलाई राखिसकेको भन्ने गर्थे,” रुपाले आफ्नो विगत पीडा सुनाइन् ।
उनलाई जागिर दिनुभन्दा पनि धेरैले विचरा पात्र बनाइदिन्थे । कहिलकाहीँ निराश हुन्थेँ । शारीरिक रूपमा अशक्त भएकै कारण काम पाउन मुस्किल भयो । थुप्रै अफिसले अन्तर्वार्ता दिए तर काम दिएनन् । तर, हिम्मत हारिनन् ।
ललितपुरको जावलाखेलमा बस्दै आएकी रुपा अहिले पनि पढ्दै छिन् । विषम शारीरिक अवस्थाले पनि उनलाई मेहनत गर्न रोकेको छैन । सामान्य मानिसले गर्ने जस्तै काम गरेर समाजमा उदारणीय बन्ने उनको सपना छ । समाजसेवा, व्यवसाय गरेर समाजका मानिसहरूलाई देखाउनु छ ।
समाज र परिवारको तिरस्कारले गर्दा उनी हरेक काम आफैँ गर्न तत्पर हुन्छिन् । “मैले कसैको साथ पाइन् । लगानी गर्ने व्यक्ति कोही भेटिनँ । लगानी गर्यो भने डुबिन्छ भन्ने सोचले सबै पन्छिए । मैले सानोतिनो काम गरिरहेकी थिएँ । आमाबाबुलाई कति दिन दुःख दिनुजस्तो हुन्थ्यो । तर, तँलाई त मोज छ बाआमाले पालेका छन् भनेर साथीभाइले व्यगं वाण प्रहार गर्थे ।”
उनी यति बेला ‘आमाछोरी अचार’ व्यवसायमार्फत सपना खोज्दै छन् । विगतमा शारीरिक अशक्तताले धेरै हन्डर ठक्कर उनले खाएकी थिइन् । त्यस्तै दुःख अरूले पाउनु नपरोस् भन्ने उनको चाहना छ । रुपा भन्छिन्, “अरूबाट काम लिने होइन दिने सोच सधैँ राख्नु पर्छ, मैले त्यहि सोच राखेर अघि बढेको छु, पक्कै सफलता मिल्नेछ ।”
उनले एक केजी बदामबाट अचारको व्यवसाय सुरु गरेकी हुन् । एक किलो बदान ल्याएर आमालाई दिँदै अचार बनाइदिनुस् भनिन् । आमाले बनाएको अचार हरेक पसलमा लगेर बेच्ने गरिन् । एउटा बट्टाको सय रुपैयाँ बेचिन् । त्यसपछि विस्तारै अन्य प्रकारको अचारपनि बनाउन थालिन् ।
उनकी आमा कुमारी अर्याल घरमा अनेक थरीका अचार बनाउँछिन् । आमाले बनाएको अचार अरूका भान्सासम्म पुर्याउने काम रूपाको हो । ’आमाले अचार बनाउनुहुन्छ, म स्कुटरमा राखेर डेलिभरी गर्छु,’रूपाले भनिन् । कामजस्तै ब्रान्डको नाम पनि उनीहरूले ’आमाछोरी अचार’ राखेका हुन् । शारीरिक अपांगता भएकी छोरीलाई आत्मनिर्भर बनाउन र उनलाई खुसी राख्न व्यवसाय थालेको कुमारी बताउँछिन् ।
उनको यो व्यवसायमा आमासहित परिवारले साथ दिएको छ । अहिले बदाम, माछा, मासु, तिल, टिमुर र मेथीको अचार बनाउने गरिएको छ । उनी हरेक ठाउँमा माग अनुसारको विभिन्न थरीका अचार आफैँले स्कुटर चलाएर उपत्यकाभित्र पुर्याउने गर्छिन् ।
उनी उपत्यकाका विभिन्न ठाउँमा अचार पुर्याउन जाँदा मानिसका अनेकन प्रतिक्रिया हुन्थे । “ए तिमी पो ? तिमी जस्तो मान्छेले कसरी अचार बनायौँ ? तिमी हिँडडुल गर्न पनि सक्छौँ र ?” प्रायः मानिसका यस्तै प्रतिक्रिया हुने गरेका छन् । कसैका प्रतिक्रियाले मनलाई असह्य गराउने उनले बताइन् ।
उनलाई कसैमाथि पनि निर्भर हुन मन लाग्दैन । आफैँ सक्षम हुनुपर्छ भन्ने सोच राख्छिन् त्यसैले त आफ्ना दुखलाई दबाएर राख्छिन् । उनले भन्छिन्, “मलाई डिपेन्डेन्ट हुन मन छैन । आफ्नै बलले हाम्रो उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य छ ।”
आमाछोरी अचारलाई नेपालको ब्रान्ड बनाउँदै आफू जस्तै शारीरिक अपांगता भएकालाई रोजगारी दिने उनको दृढ इच्छा छ उनमा । आफ्नो करिअरका बारेमा सोच्न सक्ने भएदेखि नै रूपामा केही गर्न चाहन्थिन् । अपांगता भएका व्यक्तिले पनि सामान्य व्यक्तिसरह काम गर्न सक्छन् भन्ने बलियो उदाहरण पनि बनेकी छन् । उनलाई एउटा संस्थाले व्यवसाय गर्न २५ हजार रुपैयाँ सहयोग गरेको थियो । त्यही पैसाले अचार बनाउन चाहिने भाँडाकुँडा किने, अनि सुरु गरेका थिए ।
०००
दोलखाका २६ वर्षीय निकेश मानन्धर कान सुन्दैनन् । जन्मदै मुटुमा समस्या देखिएको थियो । आमा सरुना श्रेष्ठ र बुबा राजेन्द्र मानन्धर छोराको उपचारका लागि कोरियासम्म पुगे । मुटुको समस्या हल भयो तर उपचारकै क्रममा श्रवणशक्ति गुमेको थाहा भयो । उपचारका लागि देशविदेश धाए तर, हुन सकेन ।
आफ्ना छोराको पढाइका लागि उपयुक्त हुने विद्यालय खोजे तर कोहीले पढाउन चाहेनन्, उपयुक्त वातावरण नहुँदा कुनैबेला आफ्नै छोरा पढ्न मानेनन् । दिनहरू चल्दै गयो । निकेशलाई बाग्लुङमा लगेर पढाइयो । उनलाई पढेर आफ्ना लागि आफै निर्भर हुनु थियो । पढाइका लागि सरुनाले छोरालाई कहिले नक्साल लगिन् भने कहिले अन्य विद्यालयमा लगिन् । छोराकै लागि भनेर सरुनाले शिक्षक जागिर छाडिन् । पछि व्यापार–व्यवसाय थालिन् तर सकिनन् ।
पढ्नकै लागि निकेशलाई बागलुङ पठाए । त्यहाँ कम्प्युटर इन्जिनियरिङको कोर्स सकाए । त्यसपछिको उच्च शिक्षाका लागि विदेश जाने सोच बनाए । बिरामी छोरा विदेश जाने सोच बनाएपछि आमाबुबालाई चिन्ताले सतायो । छोरालाई जसरी पनि नेपालमै राख्नुथियो आमाबुबालाई । फकाइफुलाई गरी काठमाडौंमा कम्युटर सिकाए ।
“एसईईपछिको पढाइमा दोभासे राख्नुपर्ने, खर्च बढी लाग्ने हुन्थ्यो । छोराले नेपालमा नपढ्ने विदेशमा जाने भनेर हामीलाई भन्यो,” सरुनाले भनिन्, “विरामी छोरा विदेश पठाउँदा झनै समस्या हुन सक्छ भनेर हामीले छोरालाई नेपालमै केही सीप सिकाउने सोच बनायौँ ।”
बागलुङको पढाइसकेपछि निकेशले चार महिना ग्राफिक डिजाइन सिके । अनलाइन काम गर्न थाले तर खासै सन्तुष्टि भएनन् । विदेशनै जान जोड दिए । तर, आमाबुबालाई छोरालाई जसरी नि आफैँसँग राख्नुथियो । सरुनाले छोरालाई कफि बनाउने तालिम सिकाइन् । सिकेकै ठाउँमा निकेशले काम पनि पाए । दुई महिना काम गरेपछि फेरि बबल टी बनाउन सिक्न पोखरा गए । पोखराबाट फर्किएपछि अहिले आफ्नै कफि सपमा काम गरिरहेका छ्न् ।
निकेशकै लागि भनेर उनका आमाबुबाले काठमाडौंको बानेश्वरमा कफी सप खोलिदिएका छन् । निकेशले त्यहाँ अन्य स्टाफसँगै काम गर्छन् । “छोरालाई सानैमा शारीरिक रूपमा अशक्तता देखियो । उनलाई हौसला र साथ दिनु हाम्रो कर्तव्य हो । उनकै खुसीका लागि यो व्यवसाय थालेका हौं,” निकेशका आमा सरुनाले भनिन् ।
निकेश आफैँ काम गरेर आत्मनिर्भर हुन चाहन्छन् । समाजमा अपांगता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न चाहन्छन् । कफि खान उनको सपमा मानिसहरू आउँछन् । उनको मेहनत र लगनशीलताको तारिफ गर्छन् ।
०००
यता धादिङको गल्छी गाउँपालिकाका राजु रेग्मी जन्मजात ‘लो भिजन’को अपांगता छन् । अपांगता भएका व्यक्तिलाई समाज, परिवार, आफन्तले गर्ने व्यवहार फरक हुन्छ । त्यस्तै व्यवहारबाट गुज्रिदै आएका राजु अहिले व्यवसायमा तल्लिन छन् । उनी कृषि तथा पशुपालन व्यवसाय गरेर अब्बल भएका छन् ।
२०७७ सालतिर कारोना संक्रमणका कारण देशैभर लकडाउन भयो । घरमै सीमित हुन पुग्यो । राजुले पनि सोही समयमा परिवारको सहयोगमा पाँच रोपनी जग्गामा व्यावसायिक तरकारी खेती गर्न सुरु गरे । तरकारीका लागि टनेल बनाए । टनेलमा गोलभेडा लगाउँछन् । मौसमअनुसारका तरकारी बन्दा, काउली लगायतका तरकारी पाँच रोपनी जग्गामा लगाउने गरेका छन् ।
“तरकारी खेतीसँगै बाख्रा, कुखुरापालन व्यवसाय पनि गरिरहेको छु । उब्जनी गरेको तरकारी केही बजारमा लगिन्छ भने केही घरमै पनि लिन आउने गरेका छन्, आम्दानी राम्रै भएको छ,” उनले भने ।
उनको कृषि व्यवसायमा कृषि ज्ञान केन्द्रले सहयोग गरेको छ । तरकारी खेती प्रवद्र्धन केन्द्रका लागि भनेर प्रदेश अन्तर्गतको केन्द्रले टनेल निर्माण गर्न, पोखरी निर्माण गर्न सहयोग गरेको हो । त्यो सहयोगले उनको व्यवसायमा निकै नै सहयोग पुगेको छ । उनी भन्छिन्, “अपांगताले काम गर्न छेक्छ भन्ने होइन । हिम्मत भएमा असम्भव केही छैन ।”
संस्थागत ढंगले सही अभियान चलाउने हो भने शारीरिक अपांगता भएका व्यक्तिलाई पनि आय आर्जनको काममा लगाउन सकिने देखिएको छ । शारीरिक अशक्तता प्रगतिको वाधक बन्न नसक्ने उदाहरणीय काम पनि समाजमा भइरहेको उनीहरूको अनुभवले देखाएको छ ।
अपांगता भएका व्यक्तिका लागि भनेर वाग्मती प्रदेश सरकारले कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ । प्रदेश सरकारले सिकाइ सामग्री उपलब्ध गराउने कार्यक्रम निरन्तर गरिरहेको छ । त्यस्तै विभिन्न सहायता सामग्रीहरू प्रदान गरिरहेको वाग्मती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तानले बताइन् ।
“अपांगताको क्षेत्रमा वाग्मती प्रदेश सरकारले प्राथमिकताका साथ काम गरिरहेको छ । विभिन्न सहायता सामग्री प्रदान गर्नुका साथै अनुदानको व्यवस्था समेत गरेका छौँ,” मन्त्री मोक्तानले भनिन् ।
अपांगता भएका व्यक्तिले व्यवसाय गर्न स्थानीय तहमार्फत अनुदानको व्यवस्था पनि गरिएको उनले जानकारी दिइन् । जुन प्रदेशले स्थानीय तहलाई जिम्मेवारी दिएको छ । “क्षमता विकास तालिम, उद्यमशीलता, आयआर्जनमा टेवा दिनका लागि प्रदेश सरकारले जोड दिएको छ,” मन्त्री मोक्तानले भनिन्, “बौद्धिक अपांगता भएकाहरूका लागि प्रदेशका दुई जिल्ला सिन्धुली र चितवनमा विद्यालय निर्माणका काम भइरहेको छ, विद्यालयमा थेरापिस्टको पनि व्यवस्था गर्ने योजना बनाएका छौँ ।”
वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा अपांगता भएका व्यक्तिहरूलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरू ल्याएको छ । “बौद्धिक अपांगता भएका व्यक्ति, अटिजम, मस्कुलर डिष्ट्राफी लगायतका समस्याबाट पीडित अपांगता भएका बालबालिकाहरूको संरक्षण र पुर्नस्थापनाका लागि समुदायमा आधारित कार्यक्रम सञ्चालन गरिनेछ । यस्ता बालबालिकाहरूलाई पुर्नस्थापना सेवा प्रदान गर्ने केन्द्रहरूमा स्वंयसेवक थेरापिस्टको व्यवस्था गरिनेछ,” प्रदेशले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
त्यस्तै, दृष्टिविहीन र श्रवणसम्बन्धी अपांगता भएका व्यक्तिहरूका लागि आवश्यक पर्ने शैक्षिक सहयोग सामग्री उपलब्ध गराइने कार्यक्रममा उल्लेख छ ।