जनकपुर बन्यो एनपीएल च्याम्पियन

  • समाचार यात्रा
  • २ हप्ता अघि
  • 51 जनाले पढ़िसके

काठमाडौं । ओपनर लहिरु मिलान्थाको उत्कृष्ट ब्याटिङप्रेरित जनकपुर बोल्ट्सले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको छ ।

उपाधिसँगै जनकपुरले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । उपविजेतामा चित्त बुझाएको सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको १८५ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो ।

जनकपुरको जितमा ओपनर लहिरु मिलान्थाले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ८७ रन बनाए । आक्रामक रूपमा ब्याटिङ गरेका उनले ४९ बलमा नौ चौका र चार छक्का प्रहार गरे ।

योसँगै मिलान्था प्रतियोगितामा सबैभन्दा धेरै रन बनाउने ब्याटर बने । उनले १० इनिङ्समा दुई अर्धशतकसहित २९३ रन बनाए । मिलान्थाले यसअघि प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर किंग्सविरुद्ध अर्धशतक बनाएका थिए ।

फाइनलमा मिलान्थाले ११.१ ओभरमा जीवनदान पाएका थिए । दीपेन्द्रसिंह ऐरीले गरेको उक्त ओभरमा दीपेन्द्रले नै मिलान्थाको क्याच ‘मिस’ गरेका थिए ।

जनकपुरका ओपनरद्वय कप्तान आसिफ शेख र लहिरु मिलान्थाले उत्कृष्ट सुरुआत दिलाएका थिए । यी दुईले सात ओभरमा ७३ रन बनाएका थिए ।

सातौँ ओभरको अन्तिम बलमा आउट हुनुअघि आसिफले १९ बलमा चार चौका र दुई छक्कासहित ३३ रन जोडे । आसिफलाई सुदूरपश्चिमका सैब जैबले ब्रान्डन म्याकमुलमबाट क्याच गराए ।

७३–१ को स्थितिबाट दोस्रो विकेटका निम्ति मिलान्थाले मोहमद मोहसिनसँग ३२ रनको साझेदारी गरे । मोहसिन भने सस्तैमा आउट भए । १०औँ ओभरको अन्तिम बलमा इशान पाण्डेबाट बोल्ड हुनुअघि उनले आठ बलमा एक छक्कासहित नौ रन बनाए ।

१०५–२ को स्थितिबाट मिलान्थाले तेस्रो विकेटका निम्ति हर्ष थाकेरसँग ६१ रनको साझेदारी गर्दै जनकपुरलाई जितनजिक पुर्‍याएका थिए । अविजित रहेका हर्ष थाकेर र मयन यादवले क्रमशः ३० र दुई रन बनाए ।

दोस्रो क्वालिफायरमा यसअघि कर्णाली याक्सविरुद्ध ४५ रन बनाएका जिम्मी निसम भने सस्तैमा आउट भए । उनले चार रन मात्र बनाए । आकाश त्रिपाठी दुई रनमा रनआउट भए ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी, स्कट कुग्गेलेन, सैब जैब र इशान पाण्डेले समान एक विकेट लिए ।

प्रतिकृया दिनुहोस्