- समाचार यात्रा
- १ दिन अघि
- 8 जनाले पढ़िसके

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनको मिति तय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले आगामी फागुन ७, ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनका अनुसार बैठकले विसं २०८२ असोजसम्म वडा अधिवेशन, कात्तिकसम्ममा पालिका अधिवेशन, मङ्सिरसम्म जिल्ला अधिवेशन, माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्ने निर्णय गरेको छ । केन्द्रीय समिति बैठकले पार्टीको संसदीय दलको उपनेता विराजभक्त श्रेष्ठको संयोजकत्वमा गठित पार्टीको ‘जन–यात्रा अभियान’ को कार्यविधि सर्वसम्मतले पारित गरेको कार्यवाहक प्रवक्ता झाले बताए । बैठकबाट प्रादेशिक कमिटीहरुलाई अझै सशक्त बनाउँदै जिल्ला कमिटीहरुलाई सक्रिय बनाउन प्रदेश इन्चार्ज तोकेको छ ।
जसअनुसार कोशी प्रदेशमा सन्तोष परियार, मधेसमा मनिष झा, बागमतीमा लिमा अधिकारी, गण्डकीमा शिशिर खनाल, लुम्बिनीमा विपिन कुमार आचार्य, कर्णालीमा गणेश पराजुली र सुदूरपश्चिमा हरि ढकाललाई इन्चार्ज तोकिएको छ ।