आँखा पाक्ने रोगको मुख्य कारक ‘इन्टेरो भाइरस’

  • समाचार यात्रा
  • १ साल अघि
  • 145 जनाले पढ़िसके

काठमाडौँ । भाइरल ‘कन्जंक्टिभाइटिस’ अर्थात् आँखा पाक्ने रोगको संक्रमण ‘इन्टेरो भाइरस’ को संक्रमणबाट भएको पाइएकाे छ ।

आँखा पाक्ने रोगको लक्षण भएका व्यक्तिहरुबाट नमुना संकलन गरी परीक्षण गर्दा उक्त्त भाइरस पुष्टि भएकाे हाे ।

साउन २२ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १० वटा आँखा पाक्ने रोगको लक्षण भएका व्यक्तिहरुबाट नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

उक्त नमुनाहरुलाई परीक्षण गर्दा ८० प्रतिशत नमुनाहरुमा इन्टेरो भाइरस देखिएको हो ।

विभिन्न समयमा संक्रमणको रुपमा फैलिने यो रोग भाइरस संक्रमणले हुन्छ जसमा ८० प्रतिशत ‘एडिनो भाइरस’ को कारणले हुने गर्दछ । त्यसबाहेक केही भाइरल कन्जंक्टिभाइटिसको संक्रमण इन्टेरो भाइरस तथा हरपिस भाइरसहरुले पनि गराउने तथ्यहरुले देखाएका छन् ।

याे राेगको संक्रमणले आँखा रातो हुने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने हुन्छ । कतिपय संक्रमितमा परेला सुन्निने, आँखा बिझाउने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुनेलगायतका समस्या पनि देखिएको छ । याे राेग सबै उमेर समूहमा देखिएकाे छ ।

प्रतिकृया दिनुहोस्