- समाचार यात्रा
- २ साल अघि
- 62 जनाले पढ़िसके

: मध्य युरोपमा बिहिवार आएको घातक आँधीमा परी दुई बालबालिकासहित कम्तीमा १३ जनाको ज्यान गएको छ । आँधीकै कारण त्यत्तिकै संख्यामा मानिसहरु घाइते भएका छन् । आँधीले सैयौं घर क्षतिग्रस्त बनाएको छ ।
फ्रान्सको कोर्सीका टापुमा बिहीबार बिहान आएको भीषण आँधी र हुरी बतासका कारण पाँच जनाको मृत्यु हुनुका साथै दर्जनौं मानिस घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । तीन दिनको तीव्र वर्षापछि बिहीबार परेको चट्याङले पाँच जनाको ज्यान गएको कोर्सीकन प्रहरीलाई उल्लेख गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
त्यस्तै, इटालीको टुस्कनी क्षेत्रमा शक्तिशाली हावाहुरी चल्दा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । दक्षिणी अस्ट्रियामा तीन वयस्क र दुई साना बालबालिकाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।
इटालियन नागरिक सुरक्षा एजेन्सीका अनुसार १०० जनाभन्दा बढी मानिसहरूलाई उद्दार गरी स्कुल र जिम केन्द्रमा आपतकालीन आवासमा राखिएको छ ।२२४ किलोमिटर प्रति घण्टाको गतिमा आएको असिना, भारी वर्षा र हावाले दुर्घटना निम्त्याएको फ्रान्सेली अधिकारीहरुले उल्लेख गरेका छन् ।स्थानीय फ्रान्सेली सञ्चारमाध्यमका अनुसार प्रमुख पर्यटकीय गन्तव्य कोर्सीकामा ज्यान गुमाउनेमा १३ वर्षीया बालिका र उनी बसेको शिविरकै एक ७२ वर्षिया महिला छन् जसको कारलाई समुद्री तटको बंगालाको छत खसेर चेपेको थियो ।
इटालीको लुक्कामा एक पुरुष र कारारामा एक महिला गरी दुवैको रूख ढलेर मृत्यु भएको इटालियन सञ्चारमाध्यमले जनाएका छन् ।
त्यसैगरी, इटालीकै मारिना डि मासाको समुद्री किनार शिविरमा रहेका व्यक्तिको गाडीमा स्थानीय घरको छाना खसेर चार जना घाइते भएका छन् । ती चारै जनालाई बारगा सहरको अस्पतालमा भर्ना गरिएको छ ।
आँधीले भेनिस सहरका केही भवनलाई पनि क्षति पुर्याएको छ । १२० देखि २२४ किलोमिटर प्रति घण्टासम्मको तीव्र हावा र मुसलधारे वर्षाले बिहीबार इटाली, स्पेन, अस्ट्रिया फ्रान्स लगायतका देशमा रुखहरू ढलेर बाढी आएको छ ।मिलान सहरका अधिकारीहरूले नागरिकहरूलाई पार्किङ वा रूखमुनि हिँड्नबाट जोगिन र उनीहरूको बालकोनीमा राखिएका वस्तु हटाउन आग्रह गरेका छन् ।
भूमध्यसागरका लागि फ्रान्सेली सामुद्रिक प्राधिकरणले पार्किङ गरिएका र आँधी र हुरीले भत्किएका जहाजहरूलाई मद्दत गर्न कोर्सीकाको पश्चिमी तटमा उद्धार कार्यहरू भइरहेको जनाएको छ ।
अस्ट्रियाको रेडक्रसका प्रवक्ता मेलानी रेइटरले पाँच र आठ वर्षीया बालबालिकाहरू क्यारिन्थियाको एउटा सानो ताल नजिकै खेलिरहेका बेला चर्को हुरीले धेरै रूखहरू उखेलेपछि ती चेपिएको बीएफएम टिभीलाई बताएकी छन् ।
फ्रान्सको मुख्य ग्रिड अपरेटर एन्डिसले दक्षिणी ल्वार र एन प्रशासनिक विभागहरूमा आँधी आएपछि करिब १,००० घरधुरी बिजुलीविहीन भएको बताएको छ ।