लिगलिगकोटदेखि गोरखा दरबारसम्म दौड हुने

  • समाचार यात्रा
  • २ साल अघि
  • 345 जनाले पढ़िसके

गोरखा : 

‘लिगलिगकोट–सिरानचोककोट–गोरखा दरबार म्याराथन दौड प्रतियोगिता’ २०७९ हुने भएको छ।

गोरखाका तीन स्थानीय तह र नेपाली सेनाको रिपुमर्द्धन गणको संयुक्त आयोजनामा ४० किलोमिटरको दौड प्रतियोगिता आयोजना गरिने गोरखा नगरपालिकामा नगरप्रमुख कृष्णबहादुर रानामगरले बताए।

तत्कालीन राजा द्रव्य शाहले गोरखा राज्याभिषेक गरेको दिनको अवसर पारेर भदौ २५ गते गोरखामा दौड प्रतियोगिताको आयोजना गरेको उनले बताए।

नेपाल एकीकरणको उद्गमथलोका रूपमा रहेका ऐतिहासिकस्थलको जगेर्ना गर्दै पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुर्‍याउने उद्देश्यले प्रतियोगिता गर्न लागिएको उनको भनाइ छ।

जिल्लाभित्रका तीन स्थानीय तहमा पर्ने ऐतिहासिक महत्व बोकेका स्थललाई जोडेर दौडका लागि रुट तय गरेको सेनानी प्रकाश परियारले बताए।

प्रतियोगितामा प्रथम हुनेदेखि १० औँ स्थानसम्मका विजेतालाई नगद, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तनले बताए।

प्रतियोगितामा प्रथम हुनेले रु एक लाख ५० हजार पुरस्कार पाउने छन्। द्वितीय र तृतीयले क्रमशः रु एक लाख र ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने उनले बताए।

प्रतियोगिता सम्पन्न गर्न करिब र १५ लाख खर्च लाग्ने अनुमान गरिएको छ। नेपाली सेनाको पहलमा विसं २०७६ देखि सुरु भएको प्रतियोगिता हरेक वर्ष गर्ने भनिएको भए पनि कोभिडका कारण गएको दुई वर्ष सञ्चालन हुनसकेको थिएन।

प्रतिकृया दिनुहोस्