पार्टीसँग ‘जादु’ नम्बर छ, सरकार पूरै अवधि टिक्छ : प्रधानमन्त्री

  • समाचार यात्रा
  • १० महिना अघि
  • 63 जनाले पढ़िसके

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार संसद्को पूरा अवधिसम्म टिक्ने भएकाले कुनै दुविधा नराख्न आग्रह गरेका छन् । उनले पार्टीको इतिहास, आन्दोलनको योगदान, आवश्यकता र संसद्को अंकगणितका आधारमा समेत यही सरकारले पूर्ण कार्यकाल काम गर्ने बताए ।

तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको सातौँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले संसद्मा माओवादी केन्द्रको थोरै सङ्ख्या छ भनेर चिन्ता नगर्न र दुविधा नलिन अनुरोध गरे । “सरकार कति दिनको होला, चल्छ कि चल्दैन, केही दिनपछि सरकार जाँदैछ रे भनेर दुविधा उत्पन्न गराउने कोसिस भएको देख्छु तर हामीलाई हटाउन सजिलो छैन, संसद्मा हाम्रो जादुवाला नम्बर छ, त्यो जादुले अनेक गरेर मिलाइहाल्छ”, उनले भने ।

राजनीतिक दलहरूसँग भएका समझदारीको पूर्ण पालनाप्रति आफूहरू जहिल्यै पनि इमान्दार रहेको जनाउँदै उहाँले भ्रष्टाचारविरुद्ध, सामाजिक न्याय र समृद्धिका लागि काम गर्न आफू दत्तचित्त रहेको बताए । माओवादी केन्द्रले नयाँ विचारका लागि महाधिवेशनतर्फ जाने तयारी गरिरहेको जानकारी दिँदै अध्यक्ष दाहालले केन्द्रीय समितिको आगामी बैठकबाट महाधिवेशनको मिति तोकिने बताए । “महाधिवेशनमा नयाँ विचार संश्लेषण गर्छौँ, नयाँ अभियान र विचारसहित पार्टीलाई अघि बढाउँछौँ । गणतन्त्रलाई सुदृढ गरी मुलुकलाई सुशासन र समृद्धिको नयाँ युगतिर लैजान महाधिवेशनले थप दिशानिर्देश गर्नेछ”, उनले भने ।

देशमा रहेको विविधताका आधारमा नयाँ राष्ट्रिय एकताका लागि आत्मनिर्णयको अधिकारसहितको विशेष व्यवस्था गर्न विगतमा पार्टीले भूमिका बारे उल्लेख गर्दै अध्यक्ष दाहालले सरकार, संसद् र सडकको मोर्चाबाट पनि फेरि एकपटक पार्टीलाई नयाँ उचाइमा लैजाने बताए । त्यसका लागि पार्टीका मोर्चालाई बलियो बनाउने र अभियानको रूपमा जनतासँग जोड्न सकरात्मक, रचनात्मक र ऐतिहासिक सङ्कल्प सुरु गरिसकेको बताए ।

अध्यक्ष दाहालले काठमाडौं उपत्यकाका नेवार समुदाय र आसपासका तामाङ समुदायबाट भएको त्याग, तपस्या र बलिदानले मुलुकमा गणतन्त्र सम्भव भएको स्पष्ट पार्दै संविधान जारी भएपछि निष्क्रिय रहेका पार्टीका जातीय मुक्ति मोर्चा पुनः सक्रिय हुन थालेका बताए । उत्पीडित जाति तथा क्षेत्रलाई आन्दोनलमा केन्द्रित गरी युद्धलाई अघि बढाइएको स्मरण गर्दै उहाँले उनीहरुको माग र मुद्दालाई जनयुद्धको अभिन्न अङ्ग बनाएर गोलबन्द गरेको उल्लेख गरे ।

प्रतिकृया दिनुहोस्