- समाचार यात्रा
- ९ महिना अघि
- 93 जनाले पढ़िसके

कैलाली । कैलालीमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । जोशीपुर गाउँपालिका–३, भितरियाका ३१ वर्षीय जयराम डगौरा र धनगढी उपमहानगरपालिका–१८, एफगाउँका २७ वर्षीय शालिम चौधरीको चट्याङबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविन्दसिंह बोहराले जानकारी दिए ।
उनका अनुसार डगौराको खेतमा आली बनाउने क्रममा चट्याङ लागेर घाइते भई उपचारका क्रममा महापार्वती क्लिनिकमा मृत्यु भएको हो । चौधरीको खेतमा रोपाइँ गर्ने क्रममा चट्याङ लागि घाइते भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारकै क्रममा मृत्यु भएको हो ।
त्यस्तै, घाइते हुनेमा जानकी गाउँपालिका–४ बेलपुरका २९ वर्षीया रीता कठरिया, सोही ठाउँकी २३ वर्षीया सुष्मा डगौरा, भजनी नगरपालिका–६ का ५५ वर्षीय रामबहादुर चौधरी, घोडाघोडी नगरपालिका–९ बुदेनी का ९ वर्षीया सरस्वती भुल, सोही ठाउँकी सात वर्षीया पारु कठायत र १० वर्षीया खिमा कठायत रहेको बताइएको छ ।
यसैबीच, लमजुङको क्व्होलासोथार गाउँपालिका–७ तल्लो केम्लीगाउँमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । गएराति शौचालय जान बाहिर निस्कने क्रममा ६५ वर्षीय दानबहादुर घर्तीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले जानकारी दिए ।
चट्याङका कारण राइनास नगरपालिका–९ ढाड कलाउँचेका ३८ वर्षीय रामचन्द्र अधिकारी घाइते भएका छन् । प्रहरी निरीक्षक चापागाईंका अनुसार उनको सुन्दरबजारस्थित नमुना अस्पतालमा उपचार भइरहेको छ । चट्याङका कारण बेँशीसहर नगरपालिका–६ शेराका स्थानीय मदन परियारको एउटा गोरु पनि मरेको प्रहरीले जनाएको छ । रासस