रेसुंगा विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध

  • समाचार यात्रा
  • ५ महिना अघि
  • 44 जनाले पढ़िसके

गुल्मी । जिल्लाको रेसुंगा विमानस्थलमा एक महिनादेखि हवाई उडान प्रभावित बनेको छ । वर्षाको समयमा पानी परिरहने र बाक्लो कुहिरो लाग्ने भएकाले असार दोस्रो सातादेखि उडान अवरुद्ध बनेको रेसुंगा विमानस्थलका प्रमुख सुमन थापाले जानकारी दिए ।

उनका अनुसार पछिल्लो समयमा साताको तीनपटक नियमित उडान गर्दै आएको नेपाल एयरलाइन्सले असार १४ गतेपछि उडान गर्न सकेको छैन । रेसुंगा–काठमाडौं र काठमाडौं–रेसुंगाका लागि टिकट काटेका यात्री दैनिक विमानस्थल पुगेर फर्किने गरेको बताउँछन् ।

मौसममा सुधार नआउँदासम्म नियमित उडानमा समस्या हुने भएकाले यात्रीको सुरक्षालाई ध्यान दिँदै उडान रोकिएको प्रमुख थापाले बताए । गुल्मीको रेसुंगा विमानस्थल निगमको १८ सिट क्षमताको ट्विनअटर विमानले उडान गर्दै आइरहेको छ । काठमाडौंबाट बिहान ६ः३० बजे र रेसुंगा विमानस्थलबाट बिहान ७ः३० बजे नियमित उडान तालिका छ ।

सोही तालिकाअनुसार निगमले काठमाडौंबाट रेसुंगा लागि सात हजार पाँच सय र रेसुंगाबाट काठमाडौंका लागि रु सात हजार तीन सय भाडादर निर्धारण गरेको छ । जिल्लामा गत वर्षदेखि व्यावसायिक रुपमा हवाई उडान सुरु गरिएको थियो ।

रेसुंगा विमानस्थलमा दिउँसोको समयमा अत्यधिक हावा चल्ने भएकाले प्राविधिक दृष्टिकोणले बिहान ११ बजेसम्म मात्र उडान भर्न उपयुक्त मानिन्छ । पछिल्लो समयमा हवाई उडान सुरु भएसँगै जिल्लामा आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्यामा समेत वृद्धि हुँदै गएकोे छ ।

प्रतिकृया दिनुहोस्