युवाले गरेका कामलाई सेलिब्रेट गर्नुपर्छ

  • समाचार यात्रा
  • १ हप्ता अघि
  • 12 जनाले पढ़िसके

काठमाडौं । युवाले गरेका कामलाई सेलिब्रेट गर्नुपर्ने काठमाडौंमा आयोजित कार्यक्रममा युवालयका अध्यक्ष धर्मराज रिमालले बताए । अक्सफाम नेपालले काठमाडौंमा आयोजना गरेको कोभिड–१९ पश्चात पुनःस्थापना रणनीति र कार्यको लागि युवाहरूको नेतृत्वमा आधारित लैंगिक समानता र सामाजिक समावेशीकरण पहलहरुको सिकाइ र अनुभवबारे राष्ट्रिय कार्यशालामा रिमालले युवाले गरेका कामलाई सेलिब्रेट गर्नुपर्नेमा जोड दिए ।

दिनको सुरुआत दैनिक दुई हजार युवा बाहिरिएबाट नभई नेपालमै रहेका युवाको रचनात्मक, उर्जाशील कामको चर्चाबाट हुनुपर्ने उनले बताए ।

दैलेखको भगवतीमाई गाउँपालिकाकी उपाध्यक्ष मीनाकुमारी खड्काले युवालाई अगाडि बढाउन, युवामैत्री नेतृत्व तयार गर्न स्थानीय तह लागि परेको बताइन् । “युवाबारे नयाँ विचार बनाउन, युवामैत्री स्थानीय तह बनाउन हाम्रो अठोट छ,” उनले भनिन् ।

उनले युवालाई राजनीतिमा ल्याउन पुराना पुस्ताले पुस्तान्तरण गर्नुपर्ने बताइन् । “राजनीति सर्वसाधारणदेखि जो कोहीले पनि गर्नुपर्छ तर, पुस्तान्तरण नभए युवाको सक्रियता बेकार हुन्छ,” उनले भनिन् ।

राष्ट्रिय युवा परिषद्का प्रमुख प्रशासकीय अधिकृत चन्दा थापाले स्थानीय तहमा ४१ प्रतिशत युवाहरू नेतृत्वदायी भूमिकामा रहेको तथ्यांक उल्लेख गर्दै युवालाई अवसर दिनुपर्ने औंल्याइन् ।

भगवतीमाई युवा परिषद्का उपाध्यक्ष राजेन्द्र अधिकारीले युवाहरूले आफूभित्रका क्षमता पहिल्याउन नसकेको बताए । “युवाहरू विदेशको सपनामा छन्, गएका छन्, स्थानीयस्तरमा बसेर समृद्धि हासिल गर्न सकिन्छ भन्ने सोचाइ नै छैन,” उनले भने ।

कार्यक्रममा अक्सफाम नेपालकी राष्ट्रिय निर्देशक तृप्ती राईले परियोजनाको बारेमा जानकारी दिँदै राजनीति र अर्थतन्त्रमा युवाको सहभागितालाई प्रोत्साहन गर्दै आइरहेको बताइन् । “यो परियोजनाले कोभिड–१९ पछि कर्णाली र सुदूरपश्चिम प्रदेशका युवाहरूको क्षमता अभिवृद्धिमा योगदान गर्दै राजनीति र अर्थतन्त्रमा युवाको सहभागिता प्रोत्साहन गरेको छ” उनले थपिन् ।

प्रतिकृया दिनुहोस्