- समाचार यात्रा
- २ साल अघि
- 148 जनाले पढ़िसके

खार्तुम : सुडानमा अबिरल वर्षा र बाढीका कारण कम्तीमा पनि ८३ जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार केही व्यक्ति हराइरहेका छन् । बाढी प्रभावित क्षेत्रमा कम्तीमा १८ हजार घर क्षतिग्रस्त भएका जनाइएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार कम्तीमा २५ हजार घरमा आंशिक क्षति पुगेको छ । बाढीका कारण कम्तीमा एक लाख ३६ हजार जना विस्थापित भएका छन् ।
मौसमविद्हरूले अझै केहि दिन वर्षा हुनसक्ने जनाएका छन् । सुडानका अधिकांश नदीमा पानीको सतह निकै धेरै बढेको अधिकारीहरूको भनाइ छ । सरकारले बाढीबाट निकै प्रभावित ६ राज्यमा आपत्काल घोषणा गरेको छ ।
‘नेसनल काउन्सिल फर सिभिल डिफेन्स’ ले अत्यधिक वर्षापछिको बाढीका कारण संकट उत्पन्न भएको जनाएको छ । नाइल, गेजिरा, ह्वाइट नाइल, वेस्ट कोर्डोफन, साउद डार्फर र कसला राज्यमा बाढीको बढी प्रभाव देखिएको छ ।
प्रभावित क्षेत्रमा उद्धारकर्ताहरू परिचालन गरिएको र आवश्यक सहयोगको प्रबन्ध गरिएको अधिकारीहरूले जनाएका छन् । पीडितहरूलाई सहयोग गर्न सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ । स्वदेशी तथा विदेशी सहयोग संकलनका लागि सरकारले एक अलग्गै बैंक खाता खोल्ने निर्णय गरेको जनाइएको छ ।