- समाचार यात्रा
- २ साल अघि
- 228 जनाले पढ़िसके

काठमाडौ : महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड रुपैयाँ धनराशिको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको छ।
मंगलबार गैर आवासीय नेपाली संघ र बीबी फाउण्डेशनको संयुक्त पहलमा काठमाडौँमा एक कार्यक्रम आयोजना गरी पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई लाई १ करोड रुपैयाँको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको हो।
कार्यक्रममा पुरस्कार ग्रहण गर्दै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुनले आविष्कार केन्द्रलाई माथिल्लो स्तरमा पुर्याउन आवश्यक रहेको बताए। उनले एउटा मात्रै आविष्कार केन्द्रहरु नभइ धेरै भन्दा धेरै आविष्कार केन्द्र खोल्नुपर्ने बताए।
आविष्कार केन्द्रहरु खोलेर देशको अर्थतन्त्र सुधार्न सके देशलाई कसैले पनि हेप्न नसक्ने उनको भनाइ थियो। देशमा नयाँ प्रविधिको विकास भएको खण्डमा नेपालीहरु रोजगारीको लागि बाध्य भएर विदेश जानु नपर्ने बताए।
बिबी फाउण्डेसनका अध्यक्ष एवं गैरआवसीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले १०औं सम्मेलनका अवसरमा उक्त पुरस्कारको घोषणा गरेका हुन्। ‘भवन कीर्ति रत्न’ पुरस्कार हरेक दुई–दुई वर्षमा प्रदान गरिने बताइएको छ।